नेभिगेशन

राष्ट्रिय एकताका लागि मेची–महाकाली पदयात्रा : बिरिङ पुलबाट दोस्रो दिनको यात्रा सुरु, आज गौरीगन्जमा बास बस्ने

पहिलो दिन २९ किलोमिटर दूरी पार गर्दै अघि बढेको टोलीसमक्ष स्थानीयले उठाए हात्ती आतंकदेखि लालपूर्जा र मलखादसम्मका समस्या

झापा, २ मंसिर ।
हिमाल, पहाड र तराई–मधेसबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको ‘मेची–महाकाली पदयात्रा’ को दोस्रो दिनको यात्रा बुधबार बिहान झापाको बिरिङ पुलबाट सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहको नेतृत्वमा रहेको पदयात्रा टोली पहिलो दिन २९ किलोमिटरको दूरी पार गर्दै दोस्रो दिन बाह्रदशी र झापा गाउँपालिकाको सिमानास्थित बिरिङ पुलबाट गौरीगन्जतर्फ अघि बढेको हो ।

दोस्रो दिनको यात्रा आज साँझ गौरीगन्जमा पुगेर बास बस्ने कार्यतालिका तय भएको छ । यात्राका क्रममा बाह्रदशी गाउँपालिकाका रास्वपा सभापति सोम बजगाईंले पदयात्रा टोलीलाई झापा गाउँपालिकाका सभापति लक्ष्मण तिवारीलाई औपचारिक रूपमा जिम्मा लगाउनुभएको थियो ।

पदयात्रामा रास्वपा झापा जिल्ला सभापति ओम भण्डारी, जिल्ला सचिव प्रेम खनाल, झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य प्रकाश पाठक, झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य शम्भु (सुस्केरा) ढकाल तथा क्षेत्र नं. ३ समितिका संयोजक कमल बानिया लगायतका जिल्ला पदाधिकारीहरूको विशेष सहभागिता रहेको छ । यसैगरी, बाह्रदशी सभापति सोम बजगाईं, झापा गाउँपालिका सभापति लक्ष्मण तिवारी र झापा गाउँपालिका सचिव मनोज गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरू यात्रामा सहभागी हुनुहुन्छ ।


WhatsApp-Image-2026-11-18-at-10.29.26-AM-1794979179.jpeg

  • हात्ती आतंकबाट जोगिन विद्यार्थीका लागि विद्युतीय भ्यानको माग

दोस्रो दिनको पदयात्रा सुरु गर्नुअघि पदयात्रा टोलीले बाह्रदशी गाउँपालिका–३, राजगढस्थित बाह्रदशी सामुदायिक क्याम्पसको अवलोकन तथा अन्तरक्रिया गरेको थियो । सो क्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद अधिकारी र क्याम्पस प्रमुख भेषराज बुढाथोकी लगायतले जंगली हात्ती आतंकका कारण बिहानको समयमा विद्यार्थीहरूलाई क्याम्पस आवतजावत गर्न निकै कठिनाइ भइरहेको जानकारी गराउनुभयो । उहाँहरूले विद्यार्थीहरूको सुरक्षित यातायातका लागि दुईवटा विद्युतीय (इलेक्ट्रोनिक) भ्यान उपलब्ध गराउन आवश्यक पहल गरिदिन नेतृत्वकर्ता डा. सिंह र उपस्थित सांसदहरूसमक्ष आग्रह गर्नुभएको छ ।

  • स्थानीयका जनजीविका र विभेदका सवाल
    बिरिङ पुलबाट गौरीगन्जतर्फ अघि बढिरहेको पदयात्राका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना प्रत्यक्ष समस्या र गुनासाहरू टोलीसमक्ष राखेका छन् । विशेष गरी स्थानीयले जीर्ण विद्यालय भवनको स्तरोन्नति, सार्वजनिक यातायातका लागि बस सेवाको व्यवस्था, वर्षौँदेखिको सुकुम्बासी समस्या समाधान तथा लालपूर्जा वितरण र किसानका लागि समयमै मलखादको उपलब्धता हुनुपर्ने माग उठाएका छन् ।

यसैगरी, स्थानीय दलित समुदायले समाजमा अझै पनि जातीय विभेद कायम रहेको र स्थानीय पालिकाको नीति तथा सेवा प्रवाहमा दलित समुदायको पहुँच पुग्न नसकेको भन्दै नीतिगत सुधारका लागि आवाज उठाएका छन् ।

  • जनकपुरबाट उद्घाटन र ६० दिने लक्ष्य

गत कार्तिक ३० गते रास्वपा सभापति रवि लामिछानेले ऐतिहासिक जनकपुर मन्दिर प्राङ्गणमा औपचारिक उद्घाटन गर्नुभएको यो पदयात्रा पूर्व मेची नदीको माटो र पानी लिएर सुरु भएको हो । २१ जिल्लाको करिब १,२०० किलोमिटर दूरी ६० दिनमा तय गर्दै कञ्चनपुरको महाकाली पुगेर समापन हुने यस पदयात्रामार्फत राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नुका साथै जनताका प्रत्यक्ष मुद्दालाई नीति तथा बजेट निर्माणको तहसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।WhatsApp-Image-2026-11-18-at-10.30.14-AM-1794979178.jpeg

प्रकाशित मिति:
थप समाचार