झापा, २ मंसिर । ‘विकास भयो’ भन्दै भाषण गर्नेहरूले एकपटक झापाको कनकाई (माइखोला) पुलमुनि पुगेर हेरुन्, जहाँ १५ वर्षदेखि ठडिएका अधुरा पिल्लरहरूले राज्यको उदासिनता गिज्याइरहेका छन्। यही पीडा र आक्रोशलाई कला र साहित्यमार्फत अभिव्यक्त गर्न र राज्यको ध्यान खिच्न शनिबार अनौठो दृष्य देखियो— अलपत्र कनकाई पुलको खाल्डो र बगरमुनि नै ‘हुलाकी बहुभाषिक कन्काई कवि तथा संवाद सम्मेलन’ सम्पन्न भएको छ।
‘मेची–महाकाली पदयात्रा’ का क्रममा झापा पुग्नुभएका संघीय सांसद एवं कार्यक्रमका प्रमुख अतिथि डा. अमरेशकुमार सिंहले अलपत्र पुलमुनिको मञ्चबाटै घोषणा गर्नुभयो, “अब चेतावनी दिइरहनु पर्दैन, सरकारले कनकाई पुल निर्माणको काम सुरु गरिसकेको छ। यो १५ वर्षे सास्तीको अन्त्य गर्न हामी फस्ट ट्र्याकबाट यसलाई पूर्णता दिन्छौँ।”
सरकारले काम थालिसक्यो, अब ढिलाइ हुँदैन : प्रमुख अतिथि सिंह पदयात्राको नेतृत्व गर्दै झापाको बगरमा, अझ भनूँ जनताले सास्ती भोगिरहेको ठाउँमै पुगेर कार्यक्रम गर्नुको उद्देश्य जनताका दुःख नजिकबाट बुझ्नु रहेको सांसद सिंहले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो पुल बन्नु भनेको केवल दुई किनार जोडिनु मात्र होइन, झापा गाउँपालिकालाई ताप्लेजुङ र प्रदेश राजधानी विराटनगरसँग जोड्नु हो। किसानको उत्पादन, विद्यार्थीको पढाइ र बिरामीको उपचारका लागि घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यताको अब अन्त्य हुन्छ। म आजै गौरीगन्जबाट फोन गरेर कनकाईका चारवटै पुलको काम तीव्र पार्न दबाब दिन्छु।”
ठेकेदारको लापरबाही र कानुनी दाउपेचका कारण आयोजना अल्झिए पनि अब सरकार दृढतापूर्वक अघि बढेको उहाँको भनाइ थियो।
संसद् र सडक दुवै ठाउँबाट लड्छौँ : सांसद शम्भु ‘सुस्केरा’ कार्यक्रमका विशिष्ट अतिथि एवं झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य शम्भु ‘सुस्केरा’ ढकालले साहित्य र राजनीतिको अनौठो संगममार्फत कनकाई पुलको पीडा पोख्नुभयो। साहित्यिक नाम ‘सुस्केरा’ ले परिचित सांसद ढकालले कनकाई पुल निर्माणका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो।
“हामीले वर्षायाममा डुङ्गा र हिउँदमा धुलो खाएर कति सास्ती भोग्ने?” प्रश्न गर्दै सांसद ढकालले भने, “म यही माटोको जनप्रतिनिधि हुँ। हुलाकी राजमार्ग र कनकाई पुल निर्माणका लागि म संसद्को रोस्ट्रमबाट मात्र होइन, सडक र साहित्यको शक्तिबाट पनि निरन्तर घφघट्याइरहनेछु। अब यो पुल जसरी पनि बन्छ।”
कनकाई पुल संघर्ष समिति गठन र बहुभाषिक कविता वाचन हुलाकी सडक संघर्ष समितिको आयोजनामा भएको यस कार्यक्रममा युवा नेता मनोज विष्टको संयोजकत्वमा ‘कनकाई पुल संघर्ष समिति’ समेत गठन गरिएको छ। युवाहरूको यो नयाँ ऊर्जाले पुल निर्माणको दबाबलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा भारतको बहादुरगन्जबाट पाल्नुभएका सुरजापुरी भाषाका विद्वान डा. पी.पी. सिन्हा, राजवंशी भाषी कवि टुलु राजवंशी, हुलाकी सडक संघर्ष समितिका संयोजक वरिष्ठ पत्रकार रामरिझन यादव लगायतले मैथिली, राजवंशी, सुरजापुरी र नेपाली भाषामै आफ्ना कविता तथा मन्तव्य राखेका थिए। उनीहरूले १५ वर्षदेखि पुल नबन्दा स्थानीयले भोगिरहेको चरम सास्ती र प्रशासनिक ढिलासुस्तीविरुद्ध बुलन्द आवाज उठाएका थिए।
अलपत्र पुलमुनि बसेर कवितामार्फत गरिएको यो खबरदारीले स्थानीय सरकारदेखि सिंहदरबारसम्मको ध्यान खिच्ने अपेक्षा गरिएको छ।