सुनसरी, ५ मंसिर ।
नेताले भाषण गर्ने र जनताले ताली बजाउने परम्परा तोड्दै भुइँमान्छेका वास्तविक पीडा सुन्ने” संकल्पका साथ सुरु भएको ६० दिने ‘मेची–महाकाली पदयात्रा’ पाँचौँ दिन शनिबार सुनसरीका ग्रामीण बस्तीहरूमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संघीय सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा रहेको टोली मोरङको यात्रा पूरा गरी सुनसरीको बर्जु गाउँपालिकास्थित चिमडी बजार पुगेर स्थानीयका प्रत्यक्ष गुनासा र सुझाव संकलनमा जुटेको हो ।
चिमडी बजारमा स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया
बिहान ८ बजे विराटनगरबाट पैदल हिँडेको पदयात्रा टोली सुनसरी प्रवेश गरेलगत्तै बर्जु गाउँपालिकामा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । स्वागतपछि चिमडी बजारमा आयोजित संवाद कार्यक्रममा स्थानीय किसान, व्यापारी, मजदुर तथा सर्वसाधारणले हुलाकी राजमार्ग आसपासका पूर्वाधार, सिँचाइ, मलखादको सहज उपलब्धता र स्थानीय जनजीविकाका समस्याहरूबारे आफ्ना धारणा राखेका थिए ।
स्थानीयका सुझाव र गुनासाहरूलाई टिपोट गर्दै नेतृत्वकर्ता डा. सिंहले गाउँ–बस्तीका यिनै प्रत्यक्ष आवाजलाई अभिलेखीकरण गरी सरकार, सम्बन्धित मन्त्रालय र संसद्को रोस्ट्रमसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केशलिया पुलमा भावपूर्ण बिदाइ र जिम्मेवारी हस्तान्तरण
यसअघि मोरङ र सुनसरीको सिमानास्थित केशलिया पुलमा एक संक्षिप्त कार्यक्रमका बीच अन्तर–जिल्ला समन्वय तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । रास्वपा मोरङ जिल्ला सभापति दिवस नेपालसहितको टोलीले पदयात्रा टोलीलाई मोरङबाट बिदाइ गर्नुभएको थियो ।
सोही अवसरमा विराटनगर महानगरपालिकाका नगर सभापति कृष्ण निरौलाले बर्जु गाउँपालिकाका सभापति इन्जिनियर रितेश चौधरी, सुनसरी जिल्ला सचिव राजाराम मेहता र जिल्ला कोषाध्यक्ष लक्ष्मी सुवेदी लगायतको सुनसरी टोलीलाई स्वागतसहित पदयात्राको स्थानीय व्यवस्थापन तथा समन्वयको जिम्मेवारी सुम्पनुभएको थियो ।
आज राति कोशी किनारको लौकहीमा बास बस्ने
मोरङका विभिन्न क्षेत्रको यात्रा र संवाद पूरा गर्दै सुनसरी प्रवेश गरेको पदयात्रा टोलीले आज दिनभर बर्जु र आसपासका क्षेत्रमा स्थानीयसँग भेटघाट गर्नेछ । कार्यतालिकाअनुसार टोली आज साँझ सुनसरीको लौकही पुगेर बास बस्नेछ ।
गत कार्तिक ३० गते रास्वपा सभापति रवि लामिछानेले ऐतिहासिक जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणबाट उद्घाटन गर्नुभएको यो अभियानले २१ जिल्लाको करिब १,२०० किलोमिटर पैदल दूरी तय गर्नेछ । पूर्व मेचीको माटो र पानी लिएर हिँडेको टोली पश्चिम कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ ।