मोरङ, ३ मंसिर । पूर्व मेचीको माटो र पानीलाई पश्चिम महाकालीसँग जोड्ने राष्ट्रिय एकता र जनसंवादको महाअभियान ‘मेची–महाकाली पदयात्रा’ ले झापा जिल्लाको दुईदिने यात्रा सफलतापूर्वक पूरा गर्दै बिहीबार मोरङमा पाइला टेकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संघीय सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा रहेको टोलीले पहिलो दिन २९ र दोस्रो दिन २६ गरी कुल ५५ किलोमिटरको पैदल यात्रा तय गर्दै मोरङको रतुवामाई नगरपालिकामा प्रवेश गरेको हो ।
झापाका सवाल टिपोट गर्दै मोरङमा नयाँ संवाद
झापाका भद्रपुर, हल्दीबारी, बाह्रदशी, झापा गाउँपालिका र गौरीगन्जका ग्रामीण बस्तीहरू छिचोल्दै मोरङ आइपुगेको टोलीलाई रतुवामाईमा स्थानीय बासिन्दा तथा पार्टी पंक्तिले न्यानो स्वागत गरेका छन् । झापाको यात्राका क्रममा टोलीले कनकाई नदीको अलपत्र पुल, बाँसको पुलको शुल्क, जंगली हात्ती आतंक, सुकुम्बासीलाई लालपूर्जा र मलखादको अभावजस्ता भुइँमान्छेका प्रत्यक्ष समस्याहरूलाई डायरी र ल्यापटपमा अभिलेखीकरण गरेको छ । अब मोरङको हुलाकी राजमार्ग आसपासका नागरिक, किसान र विभिन्न समुदायसँग प्रत्यक्ष संवाद गर्दै समस्या संकलन गर्ने क्रमलाई निरन्तरता दिइनेछ ।
सीमा क्षेत्रमा सांगठनिक जिम्मेवारी हस्तान्तरण
झापाको गौरीगन्ज र मोरङको रतुवामाईको सिमानामा आयोजित संक्षिप्त कार्यक्रमका बीच एक जिल्लाबाट अर्को जिल्लामा पदयात्राको औपचारिक जिम्मेवारी हस्तान्तरण गरिएको छ । सो अवसरमा रास्वपा झापा जिल्ला सभापति ओमनारायण अधिकारी (ओम भण्डारी) ले मोरङ जिल्ला सभापति भरत कँडेललाई जिल्लागत नेतृत्व सुम्पनुभएको थियो ।
त्यसैगरी, पालिका तहमा गौरीगन्ज गाउँपालिका सभापति बालकृष्ण शर्माले रतुवामाई नगरपालिकाका नगर सभापति अनिश अधिकारीलाई पदयात्रा टोलीको स्थानीय संयोजन तथा व्यवस्थापनको जिम्मा हस्तान्तरण गर्नुभयो ।
प्रदेशदेखि पालिका तहसम्मको बलियो साथ
रतुवामाईमा भएको स्वागत तथा पदयात्रा कार्यक्रममा कोशी प्रदेश समिति सदस्य सम्झना पण्डित, मोरङ जिल्ला सभापति भरत कँडेल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रमोदकुमार साह, क्षेत्रीय सचिव टिकाराम ढकाल र रतुवामाई नगर सभापति अनिश अधिकारीसहित पालिका, क्षेत्र र जिल्ला तहका नेता–कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको छ ।
आज दिनभर रतुवामाई र आसपासका बस्तीहरूमा जनसंवाद गर्दै पदयात्रा टोली आज राति मोरङको रंगेलीमा पुगेर बास बस्ने कार्यतालिका तय भएको छ । गत कार्तिक ३० गते रास्वपा सभापति रवि लामिछानेले जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणबाट उद्घाटन गर्नुभएको यो पदयात्रा ६० दिनमा २१ जिल्लाको करिब १,२०० किलोमिटर दूरी पार गर्दै कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ ।